“समयको सागरमा”- बि.पि. पौडेल

1021

समयको सागरमा जीवन एक डुङ्गा हो !
बग्छ अनवरत, छेक्न कहाँ सक्ने हो र
कहिले शान्त लहर, कहिले आँधीबेहरी !
यात्रा जारी रहन्छ, सुख-दुःखको फेरबदलमा सधैँ भरी

बिहानको लालीमाले आशा छर्दछ,
साँझको जुनकीरीले शान्ति छर्दछ।
हरेक सूर्योदयले नयाँ अवसर ल्याउँछ,
प्रत्येक सूर्यास्तले बितेका कुरा बिर्साउँछ।

बाल्यकालको चञ्चलता, युवावस्थाको जोश,
वृद्धावस्थाको शान्ति, जीवनको मधुर घोष।
सम्बन्धका तानाबुना, मायाका रेशमी धागा,
बनाउँछन् जीवनलाई सुन्दर, दिन्छन् नयाँ-नयाँ ढाँचा।

सपनाहरू हुन्छन्, केही पूरा हुन्छन्, केही अधुरै।
चाहनाहरू हुन्छन्, केही भेटिन्छन्, केही कतै हराउँछन् दुुरै।
तर, नहार्नु पर्छ कहिल्यै, नछोड्नु पर्छ साहस,
किनकि, संघर्ष नै जीवन हो, यही हो यसको सारस।

प्रकृतिले सिकाउँछ धेरै, फूलले हाँस्न सिकाउँछ,
नदीले बगिरहन सिकाउँछ, पहाडले अडिग रहन सिकाउँछ।
हामी पनि सिकौँ, रमाउँदै जीवन जिउन,
प्रत्येक पलको स्वाद लिँदै, हरपल खुसीले पिउन।

मृत्यु अवश्यम्भावी, जीवनको अन्तिम सत्य,
तर, जिउनु पर्छ हरेक पल, बनाउनु पर्छ भव्य।
स्मृतिहरू छोडेर जाऔँ, राम्रा कर्महरू गरेर,
बाँचेको जीवन सार्थक होस्, यो संसारमा नाम कमाएर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here