सिन्धुपाल्चोक जिल्लामा रहेको रेडियो सिन्धु १०५ मेगाहर्ज चौतारामा यही असार २२ र २४ गते राति चट्याङ परी स्टुडियो र प्रसारण सम्बन्धी सम्पूर्ण उपकरण तथा सामग्री जलेर नष्ट भएको छ। सो कारण सिन्धुवासीबीच अति नै लोकप्रिय रेडियो प्रसारण ठप्प रहेको छ।
रेडियोको ट्रान्समिटर मिक्सर, कम्प्युटर, सेटअप बक्स, अफिसमा रहेको टिभी लगायतको सामग्री जली नष्ट भएको नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सिन्धुपाल्चोकले विज्ञप्ति मार्फत जनाएको छ। उक्त घटनाबाट रेडियोलाई २५ लाख बराबरको क्षति भएको अनुमान छ।
सिन्धुपाल्चोकमा सूचना र मनोरञ्जनका लागि अब्बल रेडियो सिन्धु बन्द हुँदा रेडियोबाट सूचना र मनोरञ्जन लिने स्थानीय श्रोताहरु पानी खान नपाएका काकाकुल झैँ भएका छन्। यस रेडियोलाई इन्टरनेटको माध्यमद्वारा देशविदेशबाट सुन्ने श्रोताहरु समेत अन्योलमा परेका छन्।
सिन्धुवासीको ढुकढुकी बनिसकेको रेडियो सिन्धु पुन सञ्चालनका लागि सहयोग गरिदिन संघ, प्रदेश र स्थानीय सरकार, सरोकारवाला निकाय तथा सहयोगी संस्थाहरूलाई नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक अध्यक्ष ध्रुव दंगालद्वारा हस्ताक्षर विज्ञप्ति मार्फत अनुरोध समेत गरेको छ।

