- देशमा व्याप्त राजनीतिक बिकृती, भ्रष्टचार, अन्याय र अत्याचार लगायतका विविध कारणले यतिखेर नेपाली जनतामा चरम नैराश्यता छाएको छ। जनताले बैकल्पिक राजनीतिक शक्तिको खोजी गरिरहेका छन्। जनताले खोजेको नयाँ शक्तिका लागि आधा उदाएका र उदाउने सम्भावनाका नयाँ अनुहारहरुको एकता आजको आवश्यकता भइसकेको छ।
भनिन्छ, ‘फुटाऊ र राज्य चलाऊ’। राजनीतिको यो गायत्री मन्त्रलाई नेपालका पुराना दलहरुले बढी मन्त्रोचरण गरिरहेका छन्। पुराना पार्टीहरुको पहिलो रणनीति जनताको नजरमा परेका नयाँ अनुहारकाहरुलाई आफुतिर आकर्षित गरी खाइपाई आएको मानमर्दन जोगाउने र राजकाज चलाउने नै हो।
उनीहरुको यो पहिलो रणनीति सफल नभए नयाँ अनुहारकाहरुलाई एकीकृत वा एकत्रित् हुन नदिने अर्थात ‘फुटाऊ र राज्य चलाऊ’ हुने छन्। पुराना दलहरुले सम्भावित नयाँ अनुहारकाहरुलाई ‘सकेसम्म आऊ, नभए आफै पार्टी चलाऊ’ भन्ने छन्। पुराना दलहरुले आफ्नो पहिलो रणनीति सफल नभए दोश्रो रणनीतिका लागि नयाँ अनुहारकाहरुलाई अनेक किसिमका सहयोगको आश्वासन समेत बाँड्ने छन्।
आफूलाई देशको नयाँ शक्तिको रुपमा आँकलन गरिरहेकाहरुले आफूलाई होइन। देश र जनताको अवस्थालाई केन्द्रब्रिन्दुमा राखेर गहन निर्णय लिन सक्नु पर्दछ। जन्मेर देश र समाजको इज्जत फाल्ने सन्तानभन्दा जन्मिँदै नजम्निे सन्तान र जन्मेर मरेको सन्तान उत्तम भन्ने बुझ्नु पर्दछ। देश र जनताको नाममा राजनीतिमा आउने अनि देशलाई खोक्रो पार्ने, नेपाली जनतालाई विदेशी शरणार्थी भन्दै अकुत सम्पति कुम्ल्याउनेहरु जन्मिनु पर्दैन। यस्ता घृणित पात्रहरुकै कारण सिंगो व्यवस्थामा आँच आएको छ।
त्यति मात्र होइन, मुलुकमा रोजगारी नपाएर दैनिक ३ हजारको हाराहारीमा युवा शक्ति बाहिरिँदा पनि चेत नआउने सरकार नेपालमा छ। उत्पादन ठप्प भएकै कारण गत आर्थिक बर्षमा देशले १८ खर्ब ४ अर्ब रुपैयाँको अन्तरराष्ट्रिय व्यापार घाटा व्यहोर्न बाध्य भयो भने देशमाथि यतिखेर २७ खर्ब रुपैयाँको ऋणको भार छ। देश यो अवस्थामा पुग्दा पनि सत्तारुढ दलहरु आपूmले जे गर्यो, सहि गरेको भनिरहेका छन। देशको न्यायपालिका लगौंटी बिहीन भइसक्दा पनि शरमको अन्ुभूतिसम्म छैन।
नेपालमा नयाँ शक्तिको रुपमा आधा अनुहार देखिएका राष्ट्रिय स्वतन्त्र पार्टी, उदाउने अवस्थाका नयाँ अनुहारहरु कुलमान घिसिङ, बालेन शाह, हर्क साम्पाङ लगायत विभिन्न दलहरुमा रहेर आफूलाई छुट्टै रुपमा प्रस्तुत गर्नुहुने ………व्यक्तित्वहरुको एकता बिना जनताले खोजेको नयाँशक्ति सम्भव छैन। तसर्थ, जनताले अपेक्षा गरेका यी अनुहारहरुको एकता आजको आवश्यकता हो।
नेपाली जनताको मन मस्तिष्कमा पर्न सफल व्यक्तित्व कुलमान घिसिङले हालै प्रवासमा रहेका नेपालीहरुसँग भावना साटासाट गर्नुभयो। विदेशी भूमीबाटै उज्यालो नेपाल अभियानको शंखाघोष गर्नुभयो। प्रवासमा रहेका नेपालीहरुबाट नयाँ अनुहारहरुको एकतामै बैकल्पिक शक्ति छ भन्ने सल्लाह पाउनु भयो कि नही ?
विदेश भ्रमणको क्रममा त्यस्तो सल्लाह नपाए एक पटक देशव्यापी दौडाहमा निस्कन कुलमान र कुलमानहरुलाई आग्रह गर्दछु। नयाँ अनुहारकाहरुको एकता उचित छ या छैन ? बुझ्ने प्रयास गर्न आग्रह गर्दछु। तपाईहरुको सम्भावित एकताको सन्देशले दुःख, कष्ट, अन्याय र अत्याचारमा परेका नेपाली दाजु–भाइ, दिदी–बहिनीहरु हर्षविभोर हुने छन्। उनीहरुको आँखाबाट खुशीको हर्षाश्रुँ बगेको पाउनु हुनेछ। खुशीले छटपटिएको पाउनु हुनेछ। आधा उदाएका र उदाउने क्रममा रहेकाहरुको लक्ष्य र उदेश्य एउटै छ भने किन एकत्रित् नहुने ? …..कस्ले रोक्छ ? कस्ले छेक्छ ?
सा–साना समूहमा देखिएर अस्तित्व खोज्नुभन्दा सगरमाथा (भीमकया पहाड) बनेर देश र जनताले खोजेको माग र समस्यालाई सम्बोधन किन नगर्ने ? देश र जनताको नाममा माओवादीले १० बर्ष युद्ध गरेर रगत बगाए, केहि लछारेनन्। अब, जनताको मन मस्तिष्कमा परेकाहरुले रगत बगाउनु पर्दैन, पसिनासम्म बगाए पुग्छ। नयाँ अनुहारहरुको एकताले नै पुराना दलहरु पाखा लाग्ने निश्चित छ।
अन्यथा, गायत्री मन्त्र जपेकै भरमा आधा उदाएका र उदाउने क्रममा रहेकाहरुलाई पुराना दलहरुले छिन्नभिन्न पार्ने प्रवल सम्भावना छ। त्यसैले, नेपाली जनताले खोजेको नयाँ नेपालको विशाल सपना साकार पार्न झिना–मसिना प्राविधिक कुरामा नअल्मलिऊँ, शुभकामना।

