सिन्धुपाल्चोकमा श्रम संस्कृति पार्टीको चुनावपछिको जिल्ला समीक्षा बैठक बाह्रविसेमा सम्पन्न

220

श्रम संस्कृति पार्टी सिन्धुपाल्चोक जिल्ला कमिटीद्वारा चुनावपछिको जिल्ला समीक्षा बैठक आज बाह्रविसेमा सम्पन्न भएको छ। बैठकमा पार्टीका केन्द्रीय सदस्य बि.पि. पौडेल, जिल्ला अध्यक्ष आकाश गुरुङ तथा सिन्धुपाल्चोक क्षेत्र नं. १ का उम्मेदवार फुर्बा तामाङको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य गत फागुन २१ गते सम्पन्न निर्वाचनको समग्र समीक्षा गर्नु र आगामी रणनीतिबारे स्पष्ट कार्यदिशा तय गर्नु रहेको बताइएको छ।
जिल्ला अध्यक्ष आकाश गुरुङले निर्वाचनका अनुभव, उपलब्धि तथा कमजोरीबारे जानकारी गराउँदै सीमित स्रोतसाधनका बाबजुद पार्टीले जनतामाझ आफ्नो उपस्थिति मजबुत बनाएको उल्लेख गर्नुभयो।

बैठकमा मन्तव्य राख्दै केन्द्रीय सदस्य बि.पि. पौडेलले पार्टीको मूल दर्शन “प्रविधि, संस्कृति र प्रकृति” लाई आत्मसात गर्दै एकताबद्ध भई जनताको अपेक्षाअनुसार काम गर्न नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभयो। त्यसैगरी, उम्मेदवार फुर्बा तामाङले चुनावी अभियानका क्रममा प्राप्त जनसमर्थनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा जनताको मुद्दालाई अझ सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाउनुभयो।

उक्त जिल्ला समीक्षा बैठक आत्ममूल्यांकन, सुधार तथा आगामी कार्ययोजना निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here