
श्रम संस्कृती पार्टीले काठमाण्डौंको कालोपुलमा काठमाण्डौं जिल्ला सम्पर्क कार्यालय विधिवत रूपमा उद्घाटन गरेको छ। हिजो आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य आशा लामाले कार्यालयको उद्घाटन गर्नुभएको हो।
उद्घाटन समारोहमा पार्टीका केन्द्रीय सदस्य डा. धन बहादुर श्रेष्ठ, बि.पि. पौडेल लगायत अन्य केन्द्रीय सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नेताहरूले श्रममा आधारित राजनीति, श्रमिकको सम्मान र वैकल्पिक राजनीतिक संस्कृतिको आवश्यकता औँल्याएका थिए।
कार्यक्रममा जानकारी गराइएअनुसार, उक्त सम्पर्क कार्यालयका लागि काठमाण्डौं जिल्ला संयोजक मनिराम प्रधानले कार्यालय स्थान निशुल्क उपलब्ध गराउनुभएको हो। पार्टी नेतृत्वले उहाँप्रति आभार व्यक्त गरेको छ।
यस्तै, काठमाण्डौं जिल्लामा आगामी दिनमा निर्वाचन क्षेत्रगत रूपमा सञ्चालन गरिने कार्यक्रमहरूको विस्तृत विवरण काठमाण्डौं जिल्ला सहसंयोजक आईत कुमार राईले प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत विवरणमा जनसम्पर्क अभियान, संगठन विस्तार तथा श्रम संस्कृतिलाई केन्द्रमा राखेर गरिने विभिन्न गतिविधिहरू समावेश गरिएको थियो।
कार्यक्रममा अब काठमाण्डौंलाई केन्द्र बनाएर निर्वाचन क्षेत्र–केन्द्रित प्रचार–प्रसार अभियानलाई तीव्र बनाइने, जनतासँग प्रत्यक्ष संवाद बढाइने र पार्टीका नीति तथा कार्यक्रम जनस्तरसम्म पुर्याइने जानकारी गराइएको थियो।
नव उद्घाटित सम्पर्क कार्यालयले काठमाण्डौंमा पार्टीको संगठन सुदृढ गर्न, कार्यकर्ता व्यवस्थापन र राजनीतिक गतिविधिहरूलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।
श्रम संस्कृती पार्टीले श्रम, स्वाभिमान र जनमुखी राजनीतिलाई स्थापित गर्ने लक्ष्यसहित देशव्यापी संगठन विस्तारलाई निरन्तरता दिँदै आएको छ।
