
काठमाडौँ । पुराना राजनीतिक दलहरूलाई आगामी निर्वाचनमा परास्त गर्न नयाँ राजनीतिक शक्तिहरूबीच सहकार्य अपरिहार्य भएको निष्कर्ष निकालिएको छ। रिपोर्टर्स क्लब नेपालमा आयोजित अन्तरक्रियात्मक कार्यक्रममा सहभागी वक्ताहरूले नयाँ दलहरू एकजुट भएर चुनावमा जानुपर्नेमा जोड दिएका हुन्।
कार्यक्रम रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राजनीतिक विश्लेषक हेमन्त सेढाईँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता राजबहादुर गिरी, उज्यालो नेपाल पार्टीका नेता जितमान लामा, श्रम संस्कृति पार्टीका नेता जन्जित तामाङ, जनादेश पार्टीका प्रतिनिधि तथा पूर्व आईजिपी सर्वेन्द्र खनाल नेतृत्वको पार्टीका प्रतिनिधि सहभागी थिए।
कार्यक्रममा बोल्दै श्रम संस्कृति पार्टीका नेता जन्जित तामाङले नयाँ दलहरूबीच सहकार्य आवश्यक भए पनि राष्ट्रियताको सवालमा आफ्नो पार्टी अध्यक्ष हर्क साम्पाङले उठाएका प्रश्नहरूमा स्पष्ट जवाफ आउनुपर्ने बताए। उनले सिद्धान्त र राष्ट्रिय मुद्दामा साझा धारणा बिना एकता सम्भव नहुने उल्लेख गरे।
अन्य वक्ताहरूले भने पुराना दलहरूको विकल्प निर्माण गर्न नयाँ दलहरूबीच मिल्नुको विकल्प नभएको धारणा राखे। राजनीतिक विश्लेषक हेमन्त सेढाईँले देशभर प्रचार–प्रसार भइसकेको रास्वपाको ‘घण्टी’ चुनाव चिन्हमा समझदारी गरी चुनावमा जानु उपयुक्त हुने सुझाव दिए।
कार्यक्रममा अध्यक्ष ऋषि धमलाले नयाँ दलहरूले आपसी मतभेदभन्दा साझा एजेन्डामा जोड दिँदै अघि बढ्न सके जनतामा विश्वास बढ्ने बताए।
