
श्रम संस्कृती पार्टी सिन्धुपाल्चोक जिल्ला कमिटिले सदरमुकाम चौतारा बजारमा वृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ।
शनिबार सम्पन्न सरसफाई कार्यक्रम चौतारा बजारको नवलपुर चोकबाट शुरु भई चौतारा बसपार्क, नगरपालिका बाहिरको क्षेत्र, चौतारा अस्पताल तथा जिविस भवन बाहिरको एरिया, सिडियो कार्यालय अगाडि हुँदै कुभिण्डे चोक र भिन्तुना चोकसम्म भएको थियो। उक्त अभियानअन्तर्गत सडक, नाली तथा सार्वजनिक स्थानमा थुप्रिएको फोहर व्यवस्थापन गरिएको थियो।
सरसफाई अभियानपछि पार्टीको जिल्ला कार्यालय रहेको नवलपुर चोकमा कोणसभा आयोजना गरिएको थियो। कोणसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य बि.पि. पौडेल र जिल्ला अध्यक्ष आकाश गुरुङ ले आफ्नो ठाउँ आफैं सफा राख्ने संस्कार विकास गर्न सबै नागरिकलाई आग्रह गरे।
वक्ताहरूले राजनीति र दलगत कुरा भुलेर सफा समाज निर्माणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए। “साँच्चै देश बनाउन चाहने हो भने धरानका मेयर हर्क साम्पाङले थालेको महाअभियानमा लाग्न जरुरी छ,” उनीहरूले बताए।
स्थानीय तहदेखि नै श्रम, सरसफाई र संस्कृतिको विकास बिना समृद्ध देश निर्माण सम्भव नहुने उल्लेख गर्दै श्रम संस्कृती पार्टीले आगामी दिनमा पनि यस्ता सामाजिक अभियानलाई निरन्तरता दिने जनाएको छ।
