सिन्धुपाल्चोक, २०८२ फागुन ४ — श्रम संस्कृति पार्टीले सिन्धुपाल्चोक जिल्लामा सरसफाइ तथा चुनाव प्रचारप्रसार कार्यक्रम सम्पन्न गरेको छ।
सुनकोशी नदी किनारबाट सुरु भएको उक्त कार्यक्रम बार्हबिसे अस्पताल परिसर हुँदै खुर्सानिबारीसम्म पुगेको थियो। सरसफाइ अभियानसँगै आयोजित कोणसभाले स्थानीय स्तरमा चुनावी माहोललाई थप तातो बनाएको सहभागीहरूले बताएका छन्।
कार्यक्रम बिहानैदेखि सुरु भएको थियो। पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको सो अभियानमा बजार क्षेत्र, सडक छेउ तथा सार्वजनिक स्थलहरूको सरसफाइ गरिएको थियो।
सरसफाइ कार्यक्रममार्फत पार्टीले स्वच्छता, श्रमको सम्मान र सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्ने सन्देश दिन खोजिएको जनाएको छ।
खुर्सानिबारीमा सम्पन्न कोणसभालाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य बि.पि. पौडेलले श्रमको महत्वबारे जोड दिए।उनले “देश विकास र समृद्धिको आधार नै श्रम हो” भन्दै श्रमको सम्मान नगरी समृद्धि सम्भव नहुने धारणा राखे। उनले नेपाली समाजमा बढ्दो विदेशी विचारधाराप्रतिको आकर्षणप्रति टिप्पणी गर्दै स्वदेशी सोच, श्रम र आत्मनिर्भरतालाई प्राथमिकता दिनुपर्ने बताए। “विदेशी वाद मान्ने, तर आफ्नै माटोमा जन्मिएको विचार किन नमान्ने?” भन्ने प्रश्न उठाउँदै उनले राष्ट्रिय स्वाभिमान र मौलिक पहिचानको रक्षा गर्न सबैलाई आग्रह गरे।
त्यसैगरी, श्रम संस्कृति पार्टीका सिन्धुपाल्चोक क्षेत्र नं. १ का उम्मेदवार फुर्बा तामाङले आफ्नो मन्तव्य राख्दै स्थानीय विकास, रोजगारी सिर्जना र युवालाई स्वदेशमै अवसर उपलब्ध गराउने विषयलाई आफ्नो प्रमुख एजेण्डा बनाएको बताए। उनले श्रमप्रति सम्मान र उत्पादनमुखी सोचको विकासले मात्रै गाउँ–समाज परिवर्तन सम्भव हुने धारणा व्यक्त गरे।
साथै उनले चुनावमा विजयी भएमा जनताका आधारभूत आवश्यकता पूरा गर्न प्रतिबद्ध रहने विश्वास दिलाए।
कार्यक्रममा विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।सहभागीहरूले नाराबाजीसहित पार्टीका एजेण्डा प्रचार गरेका थिए। स्थानीय बासिन्दाहरूले पनि सरसफाइ अभियानलाई सकारात्मक रूपमा लिएको आयोजकहरूले जनाएका छन्।श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष आकाश गुरुङका अनुसार सरसफाइ तथा चुनाव प्रचारप्रसार कार्यक्रम अपेक्षाभन्दा बढी सफल भएको छ।
उनले जनताको उत्साहजनक सहभागिताले पार्टीलाई थप हौसला प्रदान गरेको बताए। आगामी दिनमा जिल्लाका अन्य स्थानहरूमा पनि यस्तै कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै उनले श्रम, स्वाभिमान र स्थानीय समृद्धिको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
यस कार्यक्रमले सिन्धुपाल्चोकमा चुनावी माहोललाई थप सक्रिय बनाएको छ भने श्रम संस्कृति पार्टीले आफ्ना एजेण्डालाई जनतामाझ सशक्त रूपमा प्रस्तुत गरेको छ।

