रास्वपा परित्याग गर्दै श्रम संस्कृतिमा। इन्द्रावतीमा १३ सदस्यीय कमिटी गठन।

151

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा श्रम संस्कृति पार्टीको १३ सदस्यीय गाउँपालिका कमिटी औपचारिक रूपमा गठन गरिएको छ। पार्टीका केन्द्रीय सदस्य बि. पि. पौडेल तथा प्रतिनिधि सभा उम्मेदवार भानु श्रेष्ठको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक पृष्ठभूमिका युवाहरू तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नवगठित कमिटीको अध्यक्षमा चटक नेपाली चयन भएका छन् भने उपाध्यक्षमा कृष्ण बहादुर बानियाँ, सचिवमा रत्न बहादुर वि.क. तथा कोषाध्यक्षमा रामकृष्ण माझी चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा हर्क नेपाली, सुक बहादुर तामाङ, सुरज माझी, नबराज नेपाली, गुमान माझी, नरेश माझी, राजन दनुवार, सूर्य वि.क., सुमित्रा नेपाली लगायत रहेका छन्।
कार्यक्रमकै अवसरमा केही युवाहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्दै श्रम संस्कृति पार्टीमा आबद्ध भएको घोषणा गरेका छन्। उनीहरूले विगतको निर्वाचनमा परिवर्तनको अपेक्षासहित रास्वपालाई समर्थन गरेको भए पनि पछिल्लो समय सरकारको संसदप्रतिको गैरजिम्मेवार व्यवहार तथा सुकुम्बासी समुदायमाथि देखिएको अमानवीय व्यवहारका कारण आफूहरू निराश बनेको बताएका छन्।
नवआबद्ध युवाहरूका अनुसार संसद्‌मा अनुपस्थित रहने प्रवृत्तिले लोकतान्त्रिक मूल्य र संसदीय गरिमामाथि प्रश्न उठाएको छ। साथै भूमिहीन तथा सुकुम्बासी नागरिकका समस्या समाधानमा आवश्यक संवेदनशीलता र व्यवहारिक पहलको अभाव देखिएको उनीहरूको भनाइ थियो।
उनीहरूले श्रम संस्कृति पार्टीले उठाउँदै आएको श्रमको सम्मान, सामाजिक न्याय, आत्मनिर्भरता तथा जनमुखी राजनीतिक अभियानप्रति आकर्षित भएर नयाँ राजनीतिक यात्रा सुरु गरेको बताएका छन्। विशेषगरी हर्क साम्पाङ्गको श्रम अभियान, देशभक्ति र श्रममार्फत विकास गर्ने सोचले आफूहरूलाई प्रेरित गरेको उनीहरूको भनाइ थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य बि. पि. पौडेलले नेपाली राजनीतिमा श्रमको सम्मान हराउँदै गएको उल्लेख गर्दै जनताको भावना बुझ्ने, श्रमिकको पक्षमा उभिने र व्यवहारिक राजनीति गर्ने शक्तिको आवश्यकता रहेको बताए। उनले “देश परिवर्तन केवल नाराले होइन, श्रम, इमानदारी र जनतासँगको प्रत्यक्ष सम्बन्धबाट सम्भव हुन्छ” भन्दै युवाहरूलाई उत्पादन, श्रम र सामाजिक उत्तरदायित्वसँग जोडिन आग्रह गरे।
त्यसैगरी प्रतिनिधि सभा उम्मेदवार भानु श्रेष्ठले वैकल्पिक राजनीतिक संस्कृतिको आवश्यकता औंल्याउँदै पारदर्शिता, उत्तरदायित्व र जनसहभागितामा आधारित राजनीतिक अभियानलाई बलियो बनाउनुपर्ने धारणा राखे।
नवगठित गाउँपालिका कमिटीले इन्द्रावती क्षेत्रमा श्रमिक अधिकार, सामाजिक न्याय, युवा सहभागिता तथा जनमुखी विकासलाई प्राथमिकतामा राखेर सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here